blog-post

रसुवा रोदन : विकट जिल्लाको भूकम्पपश्चात् विकाराल स्थिति

नारायण पौडेल, जिल्ला स्वास्थ्य कार्यालय, रसुवामा कार्यरत कार्यसम्पादनमा आधारित मुल्याङ्कन प्रणाली अर्थात Performance Based Management System (PBMS) का लागि जिल्लाका श्रोत व्यक्ति हुन् । काठमाण्डौमा हिजो मिति २०७२ साल आषाढ १० गते आयोजित विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको स्वास्थ्यकर्मीहरुको कार्यसम्पादनको गुणस्तर वृद्धि गर्ने उद्देश्यले सञ्चालित २ वर्षे परियोजनाको स्टेरीङ कमिटिको बैठकमा उनले रसुवाको भूकम्पपश्चात् विग्रदो स्वास्थ्य स्थितिको बारेमा यसरी बताए:

वैशाख १२ गतेको भूकम्पले देशभरमै ठूलो क्षति पुर्यायो  । रसुवा त एक हिसाबले ध्वस्तै भयो भन्दा पनि हुन्छ । म लगायत धेरै स्वास्थ्यकर्मीहरु माथि ठूलो विपद आइपर्‍यो । मेरो जीवनमा त झन् एउटा ठूलो घटना घट्यो । मैले मेरो बुवा गुमाउनुपर्‍यो । रसुवा जिल्लामा मात्रै ७ जना स्वास्थ्यकर्मीहरुको मृत्यु भएको छ । लाङ्टाङ् स्वास्थ्य चौकीमा १ जना कार्यालय सहयोगी र २ जना नर्सिङ् स्टाफको मृत्यु भयो भने जिल्लाभरमा ४ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुको मृत्यु भएको छ । त्यसगरी ११ जना स्वास्थ्यकर्मीहरु घाइते भएका छन् । रसुवाका केही गाविसहरु जस्तै हाकु, यार्सा, टिमुरे, वृदिम, थुमङ, गतलाङ र श्रमथली अति नै प्रभावित भएका छन् । यस्तो अवस्थामा जिल्लावासी र हामी स्वास्थ्यकर्मीहरूमा डर, भय, त्रास, चिन्ता र अनिश्चितताको कालो बादल ढाकिरहेको छ ।

यस्तो हुँदा हुँदै पनि हामी हाम्रो कर्तव्यबाट हटेका छैनौ । हामीले निरन्तर दिनुपर्ने आधारभूत स्वास्थ्य सेवा जिल्ला स्वास्थ्य कार्यालयको समन्वय, सक्रियता र अन्य संघसंस्थाको सहयोगमा दिइनै रहेकाछौ । म स्वयम् बुवाको १३ दिनको काम सकिने बित्तिकै स्वास्थ्य सेवामा लागेको थिएँ । भूकम्पपछिको तीव्र व्यवस्थापनमा हाम्रा थुप्रै स्वास्थ्यकर्मीहरू लाग्नुभएको छ । एउटा उदाहरण दिनुपर्दा हाकू स्वास्थ्य चौकीकी अ.न.मि राधिका पौडेलजी भूकम्प आउँदा स्वास्थ्य चौकीमै हुनुहुन्थ्यो । उहाँ भूकम्प आएपछि आफ्नो कर्तव्यबोध गर्दै ५ बजेसम्म त मेरो ड्युटी अवधि नै हो भन्दै उद्धार कार्यमा लाग्नुभयो र प्राथमिक स्वास्थ्य उपचार दिनुभयो । उद्धार कार्य सकेर ३ दिनको बाटो हिँडेर दिन रात नभनिकन खटेर मात्रै आफ्नो घर फर्किनुभयो । यस्ता उदाहरणीय कार्यहरू हाम्रा थुप्रै स्वास्थ्यकर्मीहरुले गर्नुभएको छ । यस्ता स्वास्थ्यकर्मीहरुलाई राज्यले कदर गनुपर्छ अनि बल्ल यस्तो विपदमा पनि दत्तचित्त भएर स्वास्थ्य सेवामा लाग्न प्रोत्साहन मिल्छ ।

नारायण पौडेलजीले यी घटना र अनुभवहरू सुनाउँदै गर्दा उच्च स्तरीय बैठकमा परियोजनालाई रसुवाको वर्तमान स्थिति र स्वास्थ्य संस्थाहरुको क्षतिलाई ध्यानमा राखेर PBMS कार्यक्रम स्थगन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको थियो ।

स्टेरीङ कमिटिको बैठकमा सहभागिहरु 

आफ्नो धारणा राख्दै पौडेलले भने, “रसुवामा स्वास्थ्य संस्थाहरू भत्किएका होलान् । तर हाम्रो आत्मविश्वास र हाम्रो द्रिढता भत्किएको छैन । रसुवामा कार्यक्रम स्थगन भन्दा पनि परिस्थिति अनुकुल हुने गरी कसरी फरक ढंगले लैजान सकिन्छ भन्ने बारेमा सोच्नुपदर्छ ।”


Author Info

avatar

Comments(0)

No comments found.

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.