blog-post

शोकाकुल सिन्धुपालचोक र भावुक मनहरू

Chetendra Raj Joshi expresses his emotions fearing and facing the earthquake

वैशाख १२ गते सिन्धुपाल्चोकको गोल्चे गा.वि.स को गोल्चे भन्ने गाउमा नियमित रूपमा चल्ने खोप क्लिनिकमा जानुपर्ने थियो । विहान सवेरै उठेर पाङताङको कात्तिके भन्ने ठाउँबाट साथी सुदेस लाई बेलुका भेट्ने बाचा गरी म गोल्चे उप–स्वास्थ्य चौकीका साथीहरुसँग गोल्चे गाउँ पुगे । बिहानैबाट सिमसिम पानी परिरहेको थियो , करिब ८ बजे हामी त्यहाँ पुगेका थियौँ । साथीहरुले नियमित काम शुरु गर्नुभयो । म पनि मेरो काम गर्न थाले, करिब १० बजे हामी सम्पूर्ण काम सकेर त्यहाँबाट फिर्ता भयौँ । करिब २० मिनेटको बाटोपछि म एक्लै आउनुपर्ने थियो । नयाँ बाटो, नयाँ ठाउँ अनि बेलुकी साथीहरुसँग भेट भएपछिको हाम्रो छलफलका बारेमा सोच्दै म ओरालो लागे । एक्लै बाटो हिँड्न पनि सुनसान लाग्ने हुँदा मेरा सहकर्मी साथीहरु सुदेस र समितालाई फोन गरे, र म आफ्नो काम सकेर फर्किरहेको जानकारी दिए । त्यसपछि उहाँहरुसँग बेलुका भेट्ने ठाउँमा योजना बनाए । घरमा बुवालाई फोन गरँे, आफु सञ्चै रहेको र कामको सिलसिलामा फिल्ड तिर रहेको जानकारी दिए । त्यसपछि मैले निशा (श्रीमति)लाई फोन गरेँ । उनी चौताराबाट काठमाण्डौँ जाने तयारीमा थिइन् । मैले उनीलाई पनि समयमै पुग्ने गरी राम्रोसँग जानु भन्दै फोन राखे । 

त्यस पछिको १० मिनेटको हिँडाई सहज थियो । तर एक्कासी चक्कर लागेर आयो, थामिन गाह्रो भयो । मैले सोचे आफ्नो प्रेसर कम भएर समस्या भयो तर त्यति सोच्न नभ्याउँदै इन्द्रावती खोलाको दुई छेउका भिरहरु एक्कासी गर्जनुका साथै खस्न थाले अनि खोला छेउको सुन्दर बस्ती त हेर्दा हेर्दैे कुहिरोले ढाक्यो । मानिसहरुको चिच्चाहट सुनिन थाल्यो, गाईवस्तुहरु कराउन थाले, चराचुरुङ्गीहरु कराउन थाले । अब बाँच्दिन आज यो बिरानो ठाउँमा मेरो यस्तो मृत्यु लेखेको रहेछ भन्ने मनमा लाग्न थाल्यो । आफूलाई सम्हाल्ने प्रयास गरे र बाटो छेउको रुखमुनि त्यो रुखलाई समातेर बसिरहे । ढंगाहरु छेलिन्छन् भनेर त्यो रुखले नै मेरो ज्यान बचायो । करिब १५ मिनेट जति त्यो ठाउँमा नहल्लिकन बसिरहे अनि मानिसहरु त्यहाँबाट २०० मिटर जति टाढा खोलाको छेउमा जम्मा भए र मलाई सिट्टी काडेर त्यहाँ नबस पहिरो जादैछ भनी बोलाउन थाले । तर मलाई आँट आएन, ढुंगा खसिरहेको अवस्थामा अगाडी बढ्न । करिब आधा घण्टाको त्यस ठाउँको बसाईपछि अब जे पर्ला यहाँबाट निस्कनु पर्छ भन्दै साहस बटुलेर निस्किए । गाउँलेहरु जम्मा भएको ठाउँमा पुगेँ । त्यहा रुवाँबासी चलेको थियो । कसैले आमावुवा खोज्दै थिए, कसैले छोराछोरी खोज्दै थिए, एक जना वृद्ध आमाको मृत शरीर त्यहीँ राखेका थिए, यसको घरमा यतिजना पुरीए, उसको घरमा यतिजना पुरीए भन्दै आफन्तजनको खोजतलास गर्दै थिए ।

मलाई त्यहाँ एक जना व्यक्तिले कताबाट आएको कहाँ जाने अनि घर कहाँ हो भनि सोध्नुभयो । बावु घर त हाम्रो रहेन, अब एतै बसौ सगैँ जसोतसो रात काटाँैला आज नजानुहोस् भन्नुभयो । तर मैले आफूलाई सम्हाल्न सकेको थिइन, आफ्नो घर परिवार कसैको केहि खबर पाएको थिइन, फोन लागेको थिएन त्यसकारण म त्यहाँबाट निस्किए । सक्दो चाँडो चौतारा पुग्नुपर्छ भन्ने सोचमा थिएँ । त्यहाँबाट भत्किएको पुल तर्दै म बाराम्चिको ढाँडे भन्ने ठाउमा पुगे जहाँ दुई दिन अगाडि साथी सुदेस र म बास बसेका थियौँ । म सुदेसको बाटो हर्दै थिए तर सुदेस अबेर सम्म आएनन् । त्यहाँको पनि अवस्था त्यस्तै थियो – रुवाबासी चलेको, लाशहरुलाई कपडा नओढाई सुताएको घाइते रोइरहेको । म त्यो रात त्यहिँ ठाउँमा काट्ने योजना बनाई त्यहाँ भेटिनु भएका नागरिक अस्पतालका साथीहरुसँग अब के गर्ने भनि छलफल गर्न थाले । बेलुकीको ५ः३० बज्यो म निशाासँग फोनमा कुरा गर्न सफल भए र परिवारमा सबैलाई ठिक छ भनेको थाहा पाई अब राम्रोसँग बस्नु म पनि ठिक छ भनि फोन राखँे । त्यो दिन न भोक लाग्यो न प्यास, मन एकदम आत्तियो । दुनियाँको आखामा आँसुभन्दा अरु देखिएन, दुःखभन्दा अरु देखिएन, सबै जना त्रासमा थिए, सायद बाँचेकाहरु अझै पनि बाँचिएला भन्ने साहस बटुल्न सकेका थिएनन् । त्यहाँ एक रात काटि विहान ४ बजे म चौताराको लागि निस्किए । करिब ६ घण्टाको पैदल यात्रा पछि म चौतारा पुगे ।

चौतारा बजारमा प्रहरी प्रशासनले हिँड्न दिएको थिएन । तलको वैकल्पिक बाटो टँुडिखेल पुगे । त्यहाँ पनि घाइते र लाशहरु मात्रै बढि देखिन्थे अनि त्रिपाल मुनि रात काटेका मलिन अनुहारहरु केही राहतको पर्खाइमा थिए । भोकै पेट खुल्ला आकाशमुनि रात काट्ने अरु पनि कोहि आफन्त गुमाएको पीडा त कोही घर गुमाएको पीडामा छटपटाएका थिए । आज त्यो सबै घटना केवल सपना मात्र थियो कि जस्तो लाग्दै छ । आफैलाई विश्वास लाग्दैन त्यो सब आफ्नै अगाडि घटेको घटना हो भनेर । चार दिनको सिन्धुपाल्चोक बसाई पछि काठमाण्डौँ आइयो । काठमाण्डौँ आएर विभिन्न राहतका कामहरुमा जान पाइयो र खुसी लाग्यो बाचिएको हुनाले आफुले सेवा गर्न पाइयो भनेर । विपदले सानो ठूलो यो जात उ जात , अनि धनी गरिब नभन्दो रहेछ । जसलाई जुन ठाउँमा जति बेला पनि पर्न सक्छ प्राकृतिक÷दैविक विपत त्यसकारण हामी जो बचेका छौँ, हामीले सकेजति पिडितहरुलाई केहि गरीदिनु पर्छ । यस विपदको घडिमा साथ दिने सम्पूर्ण राष्ट्र, निकायहरुलाई हृदयदेखि धन्यवाद अनि हातमा हात मिलाएर विपदको घडिमा पिडितलाई सहयोग गर्नुहुने सम्पूर्ण नेपाली युवाहरुलाई धन्यवाद । भविष्यमा पनि यसै गरी विपद न्यूनिकरण र व्यवस्थापनमा एकजुट हुनुहुनेछ भन्ने सोचका साथ सहयोगी हातहरुलाई धन्यवाद । अब आफ्नो आखाले देख्न नपरोस यस्तो विपद् ।

मृत आत्माको चिर शान्तिको कामना, घाइतेहरुमा शिघ्र स्वास्थ्य लाभको कामना र सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई धैर्यधारण गरी बस्नु हुन हार्दिक अनुरोध गर्दछु ।

STAY STRONG NEPAL!!!

 

Sudesh Chaudhary, recollects his tough times with daily diaries of first 4 dreaded days of Nepal Earthquake

 

बैशाख १२ गते महाभुकम्पको दिन

हो, बैशाख १२ गते महाभुुकम्पको दिन अझै पनि सोच्दा नयाँ जीवनको सुरुवात यस दिन म बरम्ची गा.वि.स. को ४ नं वाडमा थिएँ । आजको दिनमा साँचै भन्नु पर्दा मलाई बिहानबाटै नरमाइलो लागिरहेको थियो किनभने गएको रातमा मेरो मित्र चेतन जोशीलाई राती नराम्रो सपनाले सताईरहेको थियो र त्यसकारण हामी रातभरी नै सुतेनाँै । अझ बिहान ६ बजेतिर हामी आआफ्नो गन्तब्य तर्फ लाग्यौं । सुनसान बाटो कोही पनि नहिँड्ने बाटो पनि भरखरै बनेको सोलिङ हालेको बाटो, तर बीचमा राम्चे भन्ने गाउँ परेकोले अलि आतिनु पर्ने थिएन । करिब डेढ घण्टाको यात्रा पश्चात म बरम्ची गा. वि. स. को उपस्वास्थ्य चौकीमा पुगे । त्यहाँ हाम्रो इन्चार्ज बसिराख्नु भएको थियो । एकछिन परिचयपछि म उहाँको बासस्थानमा एकछिन् आराम गर्न गएँ । केही बेर पछि इन्चार्ज सरले खानाको लागि निमन्त्रणा गर्नुभयो र खाना खाईसकेपछि हामी केही छिन् आराम । आजको दिन शनिबार परेकोले खासै बिरामी नआउलान् तर यसै सदन खोप क्लिनिक पनि परेकाले सञ्चालन त गर्नुप¥यो, आमाहरु बच्चा लिएर आउने क्रम जारी थियो ।

एकपछि पदनाम अ. न. मि. दिदि सावित्री पौडेल आउनुभयो र सामा जामा मिलाउन थाल्नुभयो । केही बेरपछि म इन्चार्ज ज्युसँग अन्तरवार्ता लिन थाले, अन्तरवार्ता लिने क्रममा म प्र.न. ७ मा पुगेको थिए, यसो हल्लाएको महसुस भयो, इन्चार्ज ज्युले भुईचालो आयो भन्नुभयो रझ्यालबाट हामफाल्नु भयो र म पनि सँगसँगै हामफाले । बाहिर निस्केपछि त स्व¥सज्जित हे.पो. गरल्याम गुर्लुम खस्यो । ओहो ! मलाई यस्तो लाग्यो कि, सायद ढोकाबाट नै निस्किएको भए हामीलाई केही न केही क्षति हुने थियो । हामी बाहिर निस्कने क्रममै त्यस प्राङ्गण भन्दा बाहिर गयौं, त्यहाँ पनि जमिन चर्कन थालेको थियो । लौन, भुईंचालो पनि आईराखेको छ, पहाडै खस्ला जस्तो छ, जमिन पनि चर्कन थालेको छ, अब कसरी बाँच्ने सोच्दै थिए । म साँच्चै भन्नु पर्दा भगवानमा आस्था विश्वास गर्छु । मलाई कुनै पनि आपत बिपत आईपर्दा जहिले पनि भगवानलाई सम्झिने गर्छु । यस बेला पनि म हनुमान चालिसा र महामृत्युन्जय मन्त्र जप्न थाले । म त बाँच्ने आशै मारिसकेको थिए, मैले यतिखेर मेरो बुवा आमा र प्रिय साथीलाई धेरै नै सम्झेको थिए । अब भेट्न पाइन्छ कि पाईंदैन मनमा अनेक थरी प्रश्नहरु खेल्न थाल्यो, साँच्चै अब त भेट पनि हुदैन भनेर । केही बेरमा अलिक कम भयो त एकै पटक ठूलो भूकम्प आएको कारणले होला जता हिँड्यो, त्यतै हल्लाएको अनूभूति हुन्थ्यो । अब, हे. पो. ईन्चार्जले डाक्न थाल्नुभयो कि मान्छे च्यापिएका छन् घाइते भएका छन्, उद्धार गर्न जानु प¥यो भनेर । साँच्चिकै, उहाँले बोलाउदा पनि म केही गर्न सक्ने अवस्थामा थिइन जस्तै लाग्थ्यो कि, म आफु त बाँचे तर मनमा दिमागमा केही पनि थिएन । प्यारालाइसिस भएको जस्तै लागेको थियो हिँड्दा खेरी । केही बेरमा गाउँलेहरु पनि भेला भए, घाइते ब्यक्तिहरुलाई एकै ठाउँमा राखे र हामी इन्चार्जज्यु र म प्राथमिक उपचारको सामान लिएर घाइते ब्यक्तिहरुलाई राखेको ठाउँ तर्फ गयौं ।

त्यहाँ पुग्दा त सबैले भन्छन्, अब बाँच्ने आसै छैन । धन, जन सबै क्षति भयो अब, बाँचेर के गर्ने भन्दै रुन थाले, अब, मैले के भन्नु चुपचाप लागेर प्राथमिक उपचार गर्न थालें । मलाई त ठिकै छ, घरमा कस्तो भयो होला सम्पर्क पनि छैन, केही बेरमा मेरो फोन लाग्यो, बूवा पनि आत्तिदै फोन उठाउनु भयो र म सन्चै छु चिन्ता नलिनु भनें र बुवाले पनि उताबाट हुन्छ सुरक्षित बस्नु भन्नूभयो, मम्मीले पनि फोन तान्नु भयो र रुनथाल्नु भयो । केही बेर त म पनि रोएँ र म ठिकै छु चिन्ता नलिनु भनि फोन काटें । केही बेरमा आजको दिन गाउँलेहरु सबै मिलेर बास बस्नलाई टहरा बनाउन थाले कोहीले बाँस ल्याउँछन् कोहीले छाप्रो ल्याउछन् त कोही दाउरा चिर्छन् । महिलाहरु पनि खानको लागि केही बन्दोबस्त गर्न थाले । सबै खाद्यान्नहरु पुरिएकोले खानलाई त केही थिएन । अझ खानेकुरा किन्नलाई पनि उहाँहरु उधारो ल्याईरहनुभएको थियो । मनमा चस्स लाग्यो गाउँलेहरुको घर, धन, जन सबै नास भयो । मसँग ४÷५ हजार जति पैसा थियो, उहाँहरुको दःुख देखेर मैले पनि एक कार्टुन चाउचाउ र एक कार्टुन बिस्कुट दिए । उहाँहरु धेरै नै खुशी हुनुभयो । त्यस दिन म पनि चाउचाउ र बिस्कुट खाएँ । के गर्नु निन्द्रा त छदै छैन, एक एक छिनमा पराकम्पनहरु आउँछन् फेरी बिउँझाउँछन्, त्रासपूर्ण मेरो बैशाख १२ गते बित्यो यसै गरि अर्धनिन्द्रा मै ।

बैशाख १३ गते
१३ गतेको दिन, मौसम पनि खासै राम्रोे थिएन । चारै तिर हेर्दा केही पनि थिएन, मान्छे बाहेक, केही मान्छेहरु जलाईराखेका छन् त केही गाउँ गाउँ डुलेर आफन्तहरुलाई भेट्न गईरहेका थिए । यस दिन मलाई किन हो किन कस्तो नरमाइलो लागिरहेको थियो, मलाई उठ्ने बित्तिकै मेरा साथिहरुको याद आयो, लौन म त बाँचे मेरा मित्रहरु झन अप्ठ्यारा ठाउँमा हुनुहुन्थ्यो होला, उहाँहरुलाई केही भएको त छैन भनि मनमा प्रश्नहरु खेल्न थाले । यता उता हिड्ने मान्छेहरुलाई मैले सोध्थे सेलाङ्ग, गोल्चे मेरा साथीहरु जानुभएको थियो, त्यस ठाउँको खबर के छ भनेर । ओहा ! उता त झन केही बाँकी छैन रे, अझ उहाँहरुसँग सम्पर्क पनि भएको छैन । यहाँ पनि न बिजुली छ न मोबाइलमा चार्ज छ न टावर छ, कहाँबाट कसरी सम्पर्क गर्नेहोला, मनमा सोचीरहें । दिउसोतिर एक ठाउँबाट फोन आयो म पनि एक कल गर्नुप¥यो भनि आग्रह गरें । मैले सुरुमा घरमा खबर गरे र मेरो लाईन मेनेजर सोफिका दिदिलाई खबर गरें । म ठिक छु दिदि, अरु साथीको खबर के छ, सम्पर्क पनि छैनन् भने दिदि पनि आँतिदै, एउटा परिवार न हो, कोही कुनै सदस्य सम्पर्क बिहिन हुँदा कति पिडा हुन्छ । वहाँले पनि आतिदै सुरक्षित बस्नु भन्नुभयो ।

साँच्चै भन्नुपर्दा दिदिसँग कुरा गर्दा आँखाबाट आँसु खस्न थाल्यो, म अलि पर गएर एकछिन् फ्रेस भएर आएँ । मनमा त्यस्तै कुराहरु खेलि नै रहयो, मलाई त चौतारा सदरमुकाम जाने बाटो पनि याद आईराखेको थिएन । बाटोको बारेमा सोध्दा तल बाटो मै लास राखेको छ, बाटो सबै चर्केको छ, भोली जानुहोला गाउँलेहरुले भने । ल ठिकै छ, जाने त भनें तर म एक्लै जाने अवस्था पनि त थिएन । बाटै थाहा पाइन्न । खै अब हेरौं सदरमुकाम त पुग्नै प¥यो सोचें । सायद, यस्तै १ बजेतिर होला फेरी भुकम्प आयो, माथिबाट पहिरो खस्न थाल्यो चर्केको जमिन अझै चर्कियो । ओहो, अब त साँचै बाँच्ने आस नै रहेन । सबै गाउँले लगायत आफनो मनलाई समालेर भने की हिजो आएको भुकम्प फर्केको भनेर । तर मन कहाँ मान्छ र ! आफैंलाई त डर छ, आजको दिन पनि नराम्ररी नै हल्लायो । यसैगरी गाउँलेहरु सबैजना कहीं नगईकन सँगै बस्यौं । अलि रात छिप्पन थालेपछि पानी पर्न थाल्यो । अब कहाँ बस्ने, कहाँ सुत्ने, हिजो सुतेको ठाउँ त सबै भिज्यो । गाउँलेहरुले पानी अलि कम भएपछि व्यवस्था मिलाउन थाले । सुत्नु भन्दा पनि बिरामीहरुलाई पनि धेरै गाह्रो भइृराखेको थियो । स्वास्थ्य स्थिति बिग्रदै जादै थियो । अब, भोली केही न केही उपाय अपनाउनु पर्छ भनि साथीहरुसँग सल्लाह गरियो । यसरी नै आजको रात आगोको छेउमा नै बित्यो ।

बैशाख १४ गते
बैशाख १४ गते केही सम्म मनमा आँट र केही गरौं भनि लागेको थियो । बिहानदेखि बेलुकासम्म रेडियोको सहारा बाहेक केही थिएन । बिजुली टेलीफोनको लाइन पनि केही चलिरहेको थिएन । गाउँलेहरु आआफ्नो घरमा पुरिएको सामान निकाल्न लागिपरेका थिए । हिजो आएको भुकम्पले मुलको पानी पनि धमिलो भईसकेको थियो, पराकम्पनहरुको आउने जाने क्रम निरन्तर नै थियो । कुनै ठाउँमा टावर टिप्थ्यो त म घरतिर खबर गर्थें । बुवा आमासँग केही बेर कुरा गर्न पाउँदा पनि केही साहस आउँथ्यो । बुवाले भन्नुहुन्थ्या,े छोरा मान्छे साहसी र निडर हुनुपर्छ । सबैको स्थिति यस्तै छ, सहयोग त गर्नै प¥यो नि । त्यस दिन दिउसोतिर म सुतिरहेको थिएँ, एउटा हेलिकप्टरको आवाज आयो, खै मनमा साँच्चै नि उद्धारको लागि आएको हो भनि भान भयो । हामीले छेउमा एउटा लामो बाँसको रातो झण्डा गाडेका थियौं । हेलिकप्टर पनि हाम्रो माथि माथि नै आईरहेको थियो, मैले एउटा दाईलाई झण्डा हल्लाउनु भने माथिबाट देख्छन् कि भनेर, केही बेरमा हेलिकप्टर पनि हामी नजिकै आइपुग्यो र म पनि हेलिकप्टर अलिक नजिक थिएँ । हेलिकप्टरबाट पाइलट र जिल्लाको एकजना प्रतिनिधि हुनुहुन्थ्यो । वहाँले बोलाउनुभयो र बिरामीको र राहतको बारेमा केही कुरा गर्नुृभयो । उहाँले ३÷४ बोरा चामल र चाउचाउको काटुनहरु छन् । व्यवस्था मिलाउनु र बिरामीलाई ल्याउनु भन्नुभयो । गाउँले साथीहरुले सबै घाइते बिरामीहरुलाई बोकेर ल्याउनुभयो । मलाई के पनि आशा थियो कि बिरामीहरु सँगसँगै म पनि वहाँहरुलाई लिएर जान्छु तर सानो ठाउँ भएको कारण म जान पाएन । ल ठिकै छ, पहिले घाइतेहरुलाई उद्धार गरौं पछि ब्यवस्था मिलाउला भनी सोचें । त्यस दिन मौसम पनि खासै राम्रो थिएन, पानी पर्ने जस्तो थियो अझ पानी परेपछि एक त पहिरोको डर बाटो पनि सबै चर्किएको, पराकम्पनले साथ छोडेको छैन । ओहो ! मनमा तनावै तनाव, अझ खानलाई चाउचाउ बिस्कुट, त केहीले डा.साहेब दुखसुख गरि खाना खानुहोस हुनुथ्यो । खानामा वरिपरि झिंगा भन्केका हुन्थे र सबैलाई बनाएको दालसँग खानुपथ्र्यो, साँच्चिकै त्यो बेला मलाई भोक प्यारो नै थियो आफ्नो स्वास्थ्य भन्दा । जे होस्, दुखसुख गरी बाँच्नलाई खाना र पिउनलाई रेडबुल थियो ।

मनमा सोच्थे सायद अरुले त यति खान पाइराखेका छैनन् होला, मैले गाउँलेलाई धन्यबाद पनि दिन छोडेका थिएनन् । यसैगरि साथीहरुले पानीबाट बच्नलाई अलि दरो टहरा बनाउनु प¥यो भनी व्यवस्था मिलाउन थाल्नुभयो । म सँगसँगै सहयोग गरिरहे र बेलुकातिर मैले गाउँले दाजुभाईसँग सल्लाह गरें कि एक त बिजुली छैन सञ्चार माध्यम ठप्प छ, घाइते बिरामीको अत्तोपतो छैन, पानीबाट जोगिने त्रिपाल छैन, राहतका लागि केही पनि आएको छैन, हामी चौतारा सदरमुकाम जानुपर्छ र केही पहल गर्नुपर्छ भनें र उहाँहरुले ल ठिकै छ, भन्नुभयो र बिहान सबेरै तिन चार जना जाने निर्णय ग¥यौं । यसरी नै हामी त्यस दिन छेउमा आगो बालेर सानो टहरा बनाएर सुत्यौं ।

बैशाख १५ गते
हामी बिहानै चार जना चौतारा सदरमुकाम जाने तयारी ग¥यौं । म चाँही ३÷४ दिन यस यस बस्तिमा बिताए सबैलाई बिदा माग्न गए, म पनि उता पुगेपछि आफ्नो काम पनि छ केही ब्यवस्था मिल्छ कि भनेर हिँड्ने निर्णय गरें । साँचै भन्नुपर्दा मलाई त्यस ठाउँ छोडेर जाँदा पनि कस्तो नरमाइलो लागेको थियो । ४ दिन वहाँहरुले धेरै नै सम्मान गनुृभयो । टाढाबाट आएको पाहुनालाई आफ्नै परिवार जस्तै मानेर राख्नुभयो सायद, म जीवनभर नै याद गर्ने छु, मेरो नयाँ जीवनको सुरुवात । यस्तै ६ः१५ तिर हामी ४ जना सदरमुकामको लागि हिडियो । गाडि चल्ने बाटो लामो परेकोले उहाँहरुले गोरेटो बाटो लग्नुभयो, गोरेटो बाटो पनि चर्किएको छ, भिरको बाटो कुनै बेला खेतै खेत हिड्नु पथ्र्यो वरिपरि घरहरु सबै पुरिएका थिए । कोहीले पुरिएका आफ्ना सामान निकालीरहेका थिए । यस बेला मेरो मनमा गन्तब्य स्थान पुग्ने बाहेक केही पनि थिएन । हामी यस्तै ४ घण्टाको हिँडाई पछि केही बेर बिश्राम ग¥यौं र ब्यागमा बोकेको चाउचाउ र रेडबुल खायौं र फेरी गन्तब्य तर्फ लाग्यौं ।

बाटोमा वरिपरि सबैतिर घर भत्केका थिए, कोही आफ्नो आफन्त गुमाएर क्रिया बसिरहेका थिए त कोही आफ्ना बचेका सामान निकालीरहेका थिए । केहीबेर आगाडि हिडेपछि हामी नौबिसे पुग्यौं र त्याँहाबाट चाँही गाडीहरुको आवत जावत भइराखेको थियो र मैले सहयात्री दाईसँग ब्यवस्था मिलाउन भनि आग्रह गरें, उहाँले हुन्छ भनि ब्यवस्था मिलाउनुभयो र हामी सायद, १२ः२० तिर चौतारा पुग्यौं । लौन ! त्याहाँ गाउँमा माटोको घर मात्र हेरेका थियौं तर त्याहाँ त हिंडी नसक्नु थियो वरिपरिका घर सबै भत्केको थियो । म सर्बप्रथम हाम्रो अफिस हेर्न गएँ, सबै वालहरु चिरा परेको थियो बस्न लायक त कुनै घर थिएन । मैले घरवेटी बालाई पनि भेटें उहाँले मानवीय क्षति नभएको बताउनु भयो र मेरो साथीलाई देख्नुभयो भनि सोधें, बिहान आउनुभएको थियो भन्नुभयो । मलाई लागेको थियो वहाँ त काठमाण्डौ जानुभयो भनेर तर यतै हुनुहुँदो रहेछ । हामी फेरी टुँडीखेलतिर लाग्यौं र त्यहाँ हेर्दा झन नाजुक स्थिति रहेछ । हामी सिधै गाउँबाट आएका घाइते बिरामीलाई खोज्दै हिड्यौं । जिल्ला अस्पतालको क्याम्प पनि टँुडिखेलमा नै रहेछ, त्यहाँ हाम्रो सबै जिल्लाको कर्मचारीलाई भेटें र दुखेसो पोखें । यता गाउँबाट आएका घाइते बिरामीहरुलाई काठमाण्डौ लगेको रहेछ, उतै उपचार भैरहेको रहेछ । ठिकै छ, जे होस बिपतको बेलामा सहयोग गर्नु नै त हो ।

हामी फेरी माथितिर सिन्धु एफ एम तिर लाग्यौं, त्यहाँ गएर बरम्ची गाउँको स्थितिको बारेमा तथ्याङ्क दियौं र एक दिन मोबाइल चार्ज ग¥र्यौं । त्यहाँ जेनेरेटर चलाईरहेका थिए, सदरमुकाममा पनि बिजुली नभएको कारण सञ्चार माध्यमलाई जिल्ला भरिको खबर प्रदान गरिरहेका थिए । मसँग आएका दाईभाईहरुले यता त झन बिजोक छ, खान बस्नलाई झन गाह्रो छ, हामी फर्कन्छौं भन्नुभयो । अलि आधा दिन ढल्किसकेको थियो, मैले आज नजानु भोली बिहानै जानु भनि आग्रह पनि गरे तर यहाँ अब खासै काम छैन हामी बीचतिर आफन्त कहाँ बास बसौंला भनि बिदा माग्नुभयो । त्यसपछि म आफ्नो मित्र चेतेन्दलाई खौज्दै हिँडे, साँच्चै त्यो बेला एउटा कपडा ३÷४ दिन लगाएकोले मलाई चिन्न नसकिने अवस्था थियो, त्यस्तो पनि दिन आउदोरहेछ, आफ्नो पहिचान नै दिन नसकिने । साँझतिर एउटा बहिनीसँग भेट भयो र तपाईको साथी हाम्रो काकाको घरमा बस्नुभएको छ भन्नुभयो ल, म ढुक्क भएँ । साथी त भेटियो भनेर र म काकाको घर तर्फ नै लागे र वहाँहरु त्यही हुनुहुन्थ्यो । भेट्ने बितिकै म त भावुक नै भएँ, बोली नै फुट्न गाह्रो परेको हामी भेटघाट पछि धारातिर गयौं । कुरा गर्दै अफिसमा खबर ग¥यौं कि हामी सँगै छौं अब आउने ब्यवस्था मिलाउनु प¥यो भनेर । अफिसबाट पनि भोली नै गाडि पठाइदिने कुरा भयो । यसैगरि नै आजको दिन बित्यो र राती समय समयमा पराकम्पन आइरहेको थियो । एकतल्ले घर भएको कारण नडराए पनि जोरकै हल्लाउथ्यो, रातभरि निन्द्रा परेन हौ !!

साँच्चै भन्छन् सम्पति भएमा मात्तिनु हुदैन बिपत परेको बेला आत्तिनु हुदैन । अब यस बाहेक के नै छ त, बाँचिए छ, केही न केही त गर्नुपर्छ भनि आशा लिएको छु ।

धन्यवाद । सबैको नयाँ जीवनको सुरुवातको लागि बधाई छ ।


Author Info

avatar

Chetendra Raj Joshi

Comments(0)

No comments found.

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.